भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार दिउँसो ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन्। भक्तराजको वि.सं. २०४९ सालमा जिब्रोमा खटिरा देखिएको थियो । उपचारको क्रममा २०५० सालमा क्यान्सर भएको पुष्टि भएपछि जिब्रो काटियो । त्यसपछि उनले गाउन सकेनन् ।

आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो । भक्तराज आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने सापकोटाले जानकारी दिए ।

आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन्। नेपाली सुगम संगीतलाई उचाइमा पुर्‍याउन उनको निकै योगदान रहेको चर्चा गरिन्छ। आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन्।

उनका दुई छोरा सत्यराज र स्वरुप पनि गायक छन् ।आचार्यको जीवनीमा आधारित भएर चलचित्र ‘आचार्य’ बनिसकेको छ । फिल्ममा गायकको जिन्दगीका आरोह अवरोह, सफलता र दु:खहरु समेटिएको छ ।