काठमाडौँ । नेपालगञ्जका गुण्डा नाइके योगराज ढकाल उर्फ रिगलको समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले औषधीको ओभरडोज लिएको खुलासा भएको छ । छोरालाई भेट्न नपाएपछि भारतीले औषधीको ओभरडोज लिई बेहोस भएपछि उनको भेरी अस्पतालमा उपचार हुँदै गरेको छ ।

छोरा पढ्ने विद्यालयले भारतीलाई छोरासँग भेट्न नदिएको र खाजासमेत फिर्ता गरिदिएपछि उनले आत्महत्याको प्रयास गरेको स्थानीयले बताएका छन् ।स्थानीय क्रिष्टल बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत आफ्नो छोरालाई भेट्न र खाजा पुर्याउन भारती दैनिक रुपमा विद्यालयमा जाने गरेकामा मंगलबार विद्यालयले उनको खाजा दिन नमिल्ने भनी फिर्ता पठाएको थियो ।

बालकको अभिभावकको नाममा हजुरबुवा र हजुरआमाको नाममात्रै रहेको भन्दै अभिभावकको नाम नरहेको अवस्थामा खाजा स्वीकार गर्न नसकिने भन्दै भारतीको खाजा फिर्ता पठाइदिएको थियो । यसअघि पनि भारतीले खाजा लगिदिने गरेको भएपनि विद्यालयले थाहा नपाएको र मंगलबार थाहा पाएपछि खाजा फिर्ता पठाइदिएको बताइएको छ ।

विद्यालयले खाजा फिर्ता पठाइदिएपछि भारतीले भावुक हुँदै सामाजिक सञ्जाल फेसबुकमा ‘छोरा मलाई माफ गरिदेउ, म थाकी सकेँ’ भनी स्टाटस लेखेकी थिइन् । त्यस्तो स्टाटस लेखेको पाइएपछि कुनै अप्रिय घटना नहोस् भनी उनका दाइ र एक महिला भारतीको डेरामा पुग्दा उनी अचेत अवस्थामा फेला परेकी थिइन् । अचेत अवस्थामा फेला परेकी भारतीले झोलरुपमा रहेको कुनै औषधी आधी खाइसकेको तथा दैनिक खाने डिप्रेसनको औषधीको एक पत्ता सबै खाएको पाइएको बताए ।

औषधीको ओभरडोजले विषको रूप लिएको र अवस्था गम्भीर रहेको अस्पतालको भनाइ उद्धृत गर्दै ठकुरीले बताएका छन् । उनलाई आइसियुमा राखेर उपचार गरिरहेको र कम्तीमा ७२ घण्टा आइसियुमा राखेर उपचार गर्नुपर्ने बताए ।

भारतीले हाल अर्का व्यक्तिसँग विवाह गरेपछि चेतनको परिवारले भारतीलाई बालकसँग भेटघाट गर्न पनि प्रतिबन्ध लगाएकाले उनी चिन्तित भएको र विद्यालयले खाजा समेत फिर्ता पठाइदिएपछि उनले आत्महत्याको प्रयास गरेको भनाई छ ।