प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफूहरूले दिएको सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोप समेत लगाए। 

सत्तारूढ गठबन्धनलाई खरानीको डल्लोको रूपमा चित्रण गर्दै उनले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने टिप्पणी गरे।

‘नेकपा एमालेसँग मेजरिटी छैन। हामी सरकार भन्दा बाहिर छौं। प्रतिपक्षमा छौं। त्यसकारण हामीले सुझाव दिने हो,’ उनले भने, ‘त्यो सुझाव त अब गठबन्धनको दम्भले सुनिराखेको छैन पहिलेदेखि पनि। गठबन्धन त ५ वर्षसम्म जान्छ कि जाँदैन? म भन्न सक्दिन। किनभने यो खरानीको डल्लो हो। यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ।’

ओलीले सत्तारूढ प्रमुख घटक कांग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको जिकिर पनि गरे। उनले कांग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरेपनि सम्भव नभएको बताए। कांग्रेस एक्लैले संविधान संशोधन गर्नसक्ने अवस्था नरहेको ओलीको भनाई थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *