काठमाडौँ । महाशिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधुसन्तलाई आज बिदाइ गरिएको छ । आइतबार बिहान ११ बजेदेखि पशुपति क्षेत्र विकास कोषले साधुसन्तलाइ दक्षिणा सहित बिदाइको कार्यक्रम सुरु गरेको हो ।

साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गर्न सुरु गरेको हो । बाबाहरूलाई स्तरअनुसार एक हजारदेखि नौ हजारसम्म दिन लागिएको हो । नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताएका छन् ।

पशुपति क्षेत्र विकास कोषले स्वदेश तथा विदेशबाट आएका साधुहरूलाई पाशुपत क्षेत्रमा खिर खुवाएर, दान भेटी, मिष्ठान्नप्रसाद दिएर बिदा गर्ने चलन रहेको छ । बिदाइ गर्दा गुठी संस्थानले बाबाहरूलाई दक्षिणा दिने प्रचलन छ ।