काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहाल र काँग्रेसबाट युवराज शर्माले मनोनयन दर्ता गरेका छन् । संघीय संसद्को निर्वाचन कार्यतालिका अनुसार सोमबार संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा अध्यक्षका पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।
दाहाल राष्ट्रिय सभामा प्रतिनिधित्व गर्न सत्ता गठबन्धनका प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् । सत्ता गठबन्धनबीच फागुन २१ मा भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख छ ।
त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् । राष्ट्रियसभा अध्यक्षको मतदान मंगलबार हुँदैछ ।
