काठमाण्डौ – आज देशभरको मौसम बदली भएको छ । कोशी, मधेश र बाग्मती प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ । यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभावले कोशी र मधेशका अधिकांश स्थानमा बिहानदेखि नै वर्षा भइरहेको हो । महाशाखाका अनुसार काठमाण्डौका केही ठाउँमा पनि बिहान फाट्टफुट्ट पानी परेको छ र दिउँसो पनि हल्का पानी पर्ने सम्भावना छ । गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।
यस्तै कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले बताएको छ ।
