काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहान एक बजेबाट लागू हुने गरी मूल्य पेट्रोलको मूल्यमा प्रतिलिटर चार रुपैयाँ बढाएको हो।
इण्डियन आयल कर्पोरेशनबाट आइतबार ४.७६ रुपैयाँले बढेर आएको पछि मूल्यसूची अनुसार निगमले मृल्य बढाएको जनाएको छ । डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने (एल. पी) ग्यासमा प्रतिसिलिन्डर २७ रुपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको हो।
मूल्य बढेर पहिलो वर्गअन्तर्गतका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७२.५० रुपैयाँ पुगेको छ । त्यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७४ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको निगमले जनाएको हो ।
तर निगमलाई ग्यासमा अझै पनि २९६ रुपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको भाउ यथावत राखिएको जनाएको छ। डिजेल र मट्टितेलको भाउ पनि यथावत छ।

