काठमाडौँ । नेपाल प्रहरीले जनकपुरकी आरती साहको शङ्कास्पद मृत्यु भएको घटनाबारे छानबिन गर्न प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश जोशी नेतृत्वको टोली जनकपुर पठाएको छ । टोलीमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी होविन्द्र बोगटी, डीएसपी जागेश्वर भण्डारी, इन्सपेक्टर शान्ता लामा छन् ।

जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी २२ वर्षीया आरती गत जेठ ७ मा आफ्नै घरमा मृत भेटिएकी थिइन् । आरतीको माइती पक्षले भने दाइजोको निहुँमा छोरीको हत्या भएको दाबी गर्दै आरतीको श्रीमान् लगायतलाई कारबाही माग गरेका छन् । उनीहरुले लामो समय काठमाडौंमा धर्ना पनि गरेका थिए ।

गत फागुन २९ गते आरती साहको परिवारसँग गृह मन्त्रालयले पाँचबुँदे सहमति गरेको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा भएको सहमतिपत्रमा सरकारको तर्फबाट गृह मन्त्रालयका अधिकारीहरूसँगको ५ बुँदे सहमति गरेसँगै १० महिनादेखि आन्दोलनरत शाहका परिवारले आन्दोलन फिर्ता लिएका थिए ।