काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

हिजो काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा भएको छ । गएको चौबीस घण्टामा सबैभन्दा धेरै धनकुटामा ३९ मिलिमिटर वर्षा भएको जनाएको छ । केही दिनयता पानी नपर्दा र हावा नचल्दा काठमाण्डौ विश्वमै सबैभन्दा प्रदूषित बनेको थियो । आज बिहान ६ बजे काठमाण्डौ उपत्यकाको वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) १५७ मा झरेको छ । हिजो दिउँसोसम्म एक्यूआई दुई सयभन्दा माथि थियो ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको केही ठाउँमा दिउँसोपख हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ । बाँकी प्रदेशका केही ठाउँमा पनि फाट्टफुट्ट पानी पर्न सक्ने महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। अहिले प्रिमनसुनको समय भएकाले दिउँसोपख बदली भएर हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना केही दिनसम्म रहीरहने मौसमविद गोविन्द झाले जानकारी दिनुभयो ।

आज राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलिपनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै स्थानहरू साथै बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।