दाङ । घरमा राखेको सलाई बच्चाले खेलाउने क्रममा लागलागी भएपछि दाङमा ८७ वर्षीय वृद्धको जलेर मृत्यु भएको छ । दाङको लमही नगरपालिका वडा नम्बर ९ तरूलियामा आगलागी हुँदा तरुलिया निवासी अन्दाजी ८७ वर्षीय बिरबहादुर बोटेको मृत्यु भएको हो ।
आगलागीमा भएको समयमा घरभित्र कागजात लिन जाँदा उनी जल्न पुगेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । मृतक बोटेको गोठबाट सुरु भएको आगलागी उनको घर हुँदै अन्य दुई घर पनि जलेर नष्ट भएका छन् । बिहीबार ५ बजे आगलागी भएपछि लमही र गढवाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।

आगोमा परी घरमा रहेको खाद्यान्न, लत्ताकपडा, भाडाकुडा जलेर नष्ट भएको छ । स्थानीय, जनप्रतिनिधि र प्रहरीको सहयोगमा राती नियन्त्रण आएको थियो ।
