काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले पौडेलविरुद्ध अमेरिकाको स्थायी आवासीय अनुमति पत्र लिएर पनि सरकारी सेवा सुविधा लिएको आरोपमा आइतबार मुद्दा दायर गरेको हो ।

विदेशी अवासीय अनुमति पत्रधारीले नेपालको कुनै पनि सार्वजनिक पदमा रहन नपाउने कानुनी व्यवस्था रहेको छ । तर पौडेलले झुटा विवरण पेस गरेर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको अख्तियारकाे आरोप पत्रमा उल्लेख छ ।

यसअघि पनि पौडेलसहित नौ जनाविरूद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्याङ्कको खरिदमा अनियमितता गरेको आरोपमा दुई अर्ब ६९ करोड रुपियाँ बिगो माग्दै मुद्दा हालेको थियो । पावर सिस्टम इन् सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्याङ्कको खरिदमा बदनियतपूर्वक मिलेमतो गरी कमिसन लिएर ठेक्का दिएको अख्तियारको ठहर थियो ।

 ‘विदेशी मुलुकको स्थायी बसोबास अनुमति प्राप्त व्यक्ति भए पनि नेपालमा राष्ट्र सेवकको ओहदामा लाभ र सुविधा लिएको अभियोगमा अख्तियारले पौडेलविरुद्ध मुद्दा दर्ता गरेको हो’, अख्तियारका अधिकारीको भनाइ छ ।