काठमाडौँ । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीलाई नेपालले दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ।

नेपालले गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार दिने गरेकोमा नेपालको इतिहासमा पहिलो पटक नेपाल आएका राजा थानीलाई चितवनमा रहेको रुदकली र खगेन्द्रप्रसाद नाम गरेका हात्ती उपहार स्वरुप दिन लागिएको बताइएको छ ।

सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ र पोथी छावा ‘रुद्रकली’ अमिरलाई दिने तयारी गरिएको चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकारी दिए । दुबै हात्ती तालीम प्राप्त हुन । उपहार दिने हात्तीको स्वास्थ्य परीक्षण समेत गरिएको र ती दुवै हात्तीको स्वास्थ्यमा कुनै समस्या नरहेको निकुन्ज कार्यालयले जनाएको छ ।

रूद्रकली साढे ५ वर्षको हात्ती हो। पूजाकलीले जन्माएको यो हात्तीको दरबन्दी निकुञ्जको कछुवानी पोष्टमा थियो। पूजाकलीको केही वर्ष पहिले मृत्यु भएको थियो। खगेन्द्र प्रसाद खगेन्द्रमल्ली पोष्टमा जन्मिएर अहिले हात्ती प्रजनन् केन्द्रमा हुर्किरहेको छ। ऊ कोशी कलीको साढे ४ वर्षे छावा हो।

कतारबाट आएका प्राविधिकहरुले नेपालले उपहार स्वरुप दिन लागेको हात्तीको अवस्थाको बारेमा जानकारी लिएको र नेपालका प्राविधिकले पनि कतारमा हात्ती राख्ने ठाउँको निरीक्षण गरिसकेको छ । ती दुवै हात्तीलाई कतार एयर मार्फत लैजाने तयारी समेत गरिएको छ ।

नेपालले कतारलाई पहिलो पटक हात्ती उपहार दिन लागेको हो । नेपालले यस अघि गैडा, बाघ लगायतका जनावर उपहार दिएपनि हात्ती उपहार दिएको यो पहिलो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *