काठमाडौँ । ताइवानको पूर्वी तटीय क्षेत्रमा पुन शक्तिशाली भूकम्प गएको छ । गएरातिदेखि यहाँ ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३ र ६ रेक्टर स्केल मापन गरिएको थियो ।
यस महिनाको सुरुमा पनि ताइवानमा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्र पृथ्वीबाट ३४ किलोमिटर तल थियो । यसमा १३ जनाको मृत्यु भएको थियो भने १ हजारभन्दा बढी घाइते भएका थिए । उक्त भूकम्पको केन्द्रविन्दु ग्रामीण र हिमाली हुआलियन काउन्टीको तटीय क्षेत्रमा थियो । यो ताइवानमा पछिल्लो २५ वर्षमा सबैभन्दा शक्तिशाली भूकम्प थियो र त्यसपछि सयौँ परकम्पहरू आएका थिए ।
यसपटक पनि भूकम्पको केन्द्रविन्दु पूर्वी काउन्टी हुआलियनमा जमिनबाट ५.५ किलोमिटर तल रहेको मौसम विभागले जनाएको छ । भूकम्पबाट हुआलीएनमा दुईवटा भवन भूकम्पबाट क्षतिग्रस्त भएको र एउटा भवन भत्किएको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको थियो ।
यस भूकम्पले राजधानी ताइपेईका धेरै भवनहरू हल्लियो । भूकम्पको शक्तिशाली पराकम्पका कारण मानिसहरू निकै डराएका थिए । तर मानवीय क्षतिको कुनै खबर नआएको बताइएको छ ।
सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा परी १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । यसअघि सन् १९९९ मा ७.३ रेक्टर स्केलको भूकम्पमा २ हजारभन्दा बढीको ज्यान गएको थियो । ताइवान दुई टेक्टोनिक प्लेटहरूको जंक्शन नजिकै छ । त्यसैले यहाँ प्रायः शक्तिशाली भूकम्पहरू गइरहन्छ ।
