काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी स्वदेश प्रस्थान गरेका छन्। दुई दिने राजकीय भ्रमणमा मंगलबार काठमाडौं आइपुगेका थानी बुधबार स्वदेश फर्किएका हुन्।
उनलाई बिदाइ गर्न विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, परराष्ट्र मन्त्रालयसहितका उच्च पदस्थ सरकारी अधिकारीहरू विमानस्थल पुगेका थिए।
बुधबार प्रधानमन्त्री दाहाल र कतारका तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो । उक्त वार्ताका क्रममा दुई देशबीच आपसी सहकार्यसम्बन्धी विभिन्न विषयमा समझदारी भएको छ । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो ।
फिलिपिन्सबाट बंगलादेश हुँदै उनी मंगलबार अपरान्ह काठमाडौं आएका हुन्। यसैबीच प्रधानमन्त्रीसँगको वार्ताका क्रममा विभिन्न आठ क्षेत्रमा समझदारी गर्ने सहमति भएको छ।
