काठमाडौँ । नेपाल र कतारबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारी तथा सम्झौता भएको छ । काठमाडौंको होटल सोल्टीमा नेपाल र कतारका प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्तापछि समझदारीमा हस्ताक्षर भएको हो।
सरकारीस्तरबाट छ वटा र निजी क्षेत्रबाट दुई वटा गरी आठ वटा समझदारी तथा सम्झौता भएकाे परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिरको उपस्थितिमा सरकारीस्तरको समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र त्यहाँका समकक्षीले हस्ताक्षर गरे ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच भएको सम्झौतामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल हस्ताक्षर गरेका थिए।
नेपाल – कतारबीचका यस्ता छन् सहमतिहरू
१. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबिचमा कला तथा सांस्कृतिक सहकार्यका क्षेत्रमा सहकार्य गर्ने समझदारी
२. नेपालको सरकारी समाचार संस्था राष्ट्रिय समाचार संस्था तथा कतारको कतार न्युज एजेन्सीबिचमा समाचार आदानप्रदानको सहकार्यको सहमति
३. नेपाल र कतारबीच शिक्षा, उच्च शिक्षा तथा वैज्ञानिक खोज अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने समझदारी
४. नेपाल र कतारबीच युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्नेमा समझदारी
५. नेपाल तथा कतारका महान्यायाधिवक्ता कार्यालयका बिचमा सहकार्यको समझदारी
६.नेपाल सरकारको परराष्ट्र अध्ययन प्रतिष्ठान तथा कतार सरकारको विदेश मन्त्रालयको कूटनीतिक संस्था बिचमा कूटनीतिक तालिम तथा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने समझदारी
७. नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीचमा साझा व्यापारिक परिषद् स्थापना गर्ने सम्झौता
८. नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीचमा समझदारी पत्रको नवीकरण
यस पटक कतारका राजाको भ्रमण हुँदा नेपालले सन् २००५ मा दुई देशले हस्ताक्षर गरेको श्रम सम्झौताको नवीकरण चाहेको थियो । पूर्णकालीन बीमा, कामदारको ज्यालावृद्धिजस्ता विषय समेट्ने सम्झौताका कतिपय विषय टुङ्गो नलागेकोले थाती राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोल्टीको द्विपक्षीय वार्तापछि प्रधानमन्त्री प्रचण्डले कतारी अमिर शेख तमिम विन हमाद अल थानीको सम्मान होटल द्वारिकाजमा दिवा भोजको आयोजना गरेका छन्।
मंगलबार नेपालको राजकीय भ्रमणमा आएका कतारी अमिर आजै स्वदेश फर्कनेछन्।
