सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक राखिएको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ।

गठबन्धन दल एमाले र माओवादीबीच मन्त्रालयको बाँडफाँडमा सहमति भएसँगै बुधबार मन्त्रीपरिषद् विस्तार गरी आज विश्वासको मत लिने भएका हुन् ।

सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ।यता एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ।

४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका १ सांसद छन्। नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन्। मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सांसदको समर्थन आवश्यक रहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *