काठमाडौँ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसले अग्रता लिएको छ। सोमबार बिहानदेखि कांग्रेसका अभिषेकबहादुर सिंहले अग्रता लिएका हुन्। सिंह एमाले उम्मेदवारभन्दा २ सय ६४ मतले अगाडि छन्।
अहिलेसम्म २० हजारभन्दा बढी मत गणना हुँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ४ सय ९२ मत प्राप्त गरेका छन्। आइतबार मध्यरातसम्म अग्रता कायम गरेका एमालेका दमनबहादुर भण्डारी भने झिनो अन्तरले पछि परेका छन्। उनले ७ हजार २ सय २८ मत प्राप्त गरेका छन्। त्यस्तै, माओवादीका जनक बहादुर बुढाले २ हजार ८ सय ९५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार १ सय २ मत प्राप्त गरेका छन् ।
२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित भएका थिए। सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो। कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन् । गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत प्राप्त गरेका थिए। २०४८ पछि यो क्षेत्रमा कांग्रेसका उम्मेदवारले तीनपल्ट र एमालेका उम्मेदवारले चार पटक जितेका थिए।
