काठमाडौँ । इलाम २ बाट नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतको फराकिलो मतान्तरले पराजित गरेका हुने । कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले झण्डै तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ ।
त्यस्तै तेस्रो स्थानमा मूढा चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले ११४५७ मत पाएका छन्। चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरे । इलाम- २ मा जम्मा ६९२८७ मत खसेको थियो।
२०८० साल भदौ २७ मा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ रिक्त थियो । २०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम- २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।
