काठमाडौँ । कीर्तिपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका वडा नम्बर १० आयुर्वेद अस्पतालअगाडि सडकखण्डमा बा ३ ख २०२७ नम्बरको बस आइतबार दिउँसाे करिब ३ बजे दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
आयुर्वेद अस्पतालबाट निस्किएको स्कुटरलाई जोगाउने क्रममा बस अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनामा घाइते मध्ये एक जनाको कीर्तिपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जनाएका छन्।
दुर्घटनामा अन्य तीन जना घाइतेको उपचारका लागि अस्पताल पठाइएको छ। बैतडी घर भई कीर्तिपुर बस्ने २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया बिमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा घाइते भएका छन्। पन्त र श्रेष्ठको उपचारको लागि कीर्तिपुर अस्पतालमा र चालक लामालाई ट्रमा सेन्टरमा लगिएको अधिकारीले बताए।
बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
