काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले २२औं आमरण अनशन सुरु गरेका छन्‌। अनशन सुरु गर्नुअघि केसीले यसपटक अनशनको माग प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा बनाएका छन्‌।

शनिबार दिउँसो प्रेस विज्ञप्तिमा उनले १० वर्षे सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेका हुन् । वि.सं. २०५२ फागुन १ देखि २०६२/६३ को जनआन्दोलनसम्म भएको १० वर्षे हिंसात्मक द्वन्द्वमा झण्डै १७ हजार नागरिकको ज्यान गएको थियो । तत्कालीन नेकपा (माओवादी) ले सो द्वन्द्वलाई ‘जनयुद्ध’ का रूपमा अघि बढाएको थियो । जनयुद्ध शुरु हुँदा महामन्त्री र पछि अध्यक्ष भएका दाहाल हाल देशका प्रधानमन्त्री छन्‌ ।

उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन् । ‘हाल सत्ताको नेतृत्व गरेका प्रचण्ड त पदमा रहँदा सधैंभर आफ्नो दण्डहीनताका लागि सिंगो संक्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको इतिहास छ । त्यसैले निष्पक्ष रुपमा र पीडितहरुले न्यायको अनुभूति गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया नटुंगिउन्जेल पदमा बस्ने उनको कुनै पनि नैतिक तथा कानुनी धरातल छैन । तसर्थ उनले तुरुन्त राजीनामा दिनुपर्छ’, उनले विज्ञप्तिमा भनेका छन् ।

बृहत शान्ति सम्झौतापछि द्वन्द्वकालमा मानव अधिकार हनन, मानवताविरोधी अपराध र युद्ध अपराध गर्ने व्यक्तिहरु र दलहरु नै अहिलेसम्म निरन्तर सत्तामा रहेको भन्दै केसीले उनीहरुले शक्तिको आडमा छानबिन प्रक्रिया निस्तेज पारेर सजायबाट बच्ने दाउमा लागेको आरोप लगाएका छन् ।