काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।
यतिबेला गण्डकी प्रदेशका केही ठाउँ स्थानहरू, कोशी र बागमती प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का पानी परिरहेको छ । सोमबार दिउँसो काठमाण्डौ उपत्यकासहित पहाडी भेगका थोरै ठाउँमा र तराईका एक, दुई ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भू-भागका थोरै स्थानहरूमा साथै तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
हिजोको तुलनामा आज कम र आजको तुलनामा भोलि कम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार पर्सि बुधवार धेरै ठाउँको मौसम सफा रहनेछ ।
