काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चौथो पटक जेठ ७ गते विश्वासको मत लिने भएका छन्। सोमबार जनता समाजवादी पार्टी नेपालले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिनुपर्ने भएको हो। 

सरकारमै रहेर वर्तमान सत्ता गठबन्धनका दलसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जसपा नेपालले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्था आएको जसपा नेपालका प्रवक्ता मनिष सुमनले अन्नपूर्णलाई जानकारी दिए।

सरकारमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि सोमबार बिहान राजीनामा दिएका छन्। जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आजै संसद सचिवालयमा दर्ता गर्न लागिएको जसपाका नेता कार्कीले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन संघीय संसद्‌ सचिवालयलाई पत्र पठाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।  ‘विश्वासको मत लिनका लागि प्रधानमन्त्री कार्यालयबाट सङ्घीय संसद्का महासचिवलाई सम्बोधन गरेर संसदको कार्यसूचीमा राख्न पत्र आएको छ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने सूचना महासचिवलाई दिनुभएको हो।’ अधिकारीले भने, ‘सभामुखले कार्य व्यवस्था परामर्श समितिको परामर्श समितिमा छलफल गरेर सम्भवतः प्रधानमन्त्रीले मागेकै दिनलाई तोक्नुहुनेछ।’

संविधानको धारा १०० को उपधारा (२) मा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रचण्डले पछिल्लो पटक २०८० फागुन ३० गते विश्वासको मत पाएका थिए । प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिनिधि सभामा तेस्रो पटक विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १५७  मत र विपक्षमा ११०  मत खसेको थियो। प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले,माओवादी केन्द्र,रास्वपा, जसपा, नेकपा एकीकृत, नागरिक उन्मुक्ति र तीन जना स्वतन्त्र सांसद (प्रभु साह,अमरेश कुमार सिंह र योगेन्द्र मण्डल) ले विश्वासको मत दिएका हुन्। काँग्रेस,राप्रपा,लोसपा,जनमतलगायतले मत दिएका थिएनन्।

प्रचण्डले त्यसअघि २६ पुस  २०७९ मा पहिलो पटक र  ६ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए। पहिलो पटक बैठकमा उपस्थित २७० सांसदमध्ये  २६८ जनाले प्रचण्डलाई मत दिएका थिए।  दोस्रो पटक बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले मत दिएका थिए।

गत २०७९ पुस १० गते काँग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *