काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । नागरिकता सम्बन्धी कसुरमा प्रहरीको हिरासतमा रहेका सिरोहियालाई गएराति १० बजे अस्पताल भर्ना गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो । सिरोहियालाई उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखेपछि अस्पताल भर्ना गरिएको बताइएको छ ।

उनलाई सुरुमा जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएकोमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सारिएको हो ।

धनुषा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि सिरोहियालाई गत मंगलबार काठमाडौँको थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको कार्यकक्षबाटै पक्राउ गरिएको थियो । शुक्रबार अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पुनः तीन दिनको म्याद थप गरेको छ ।