नवलपरासी । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिँदा अवरुद्ध भएको सडक एकतर्फी हिजो दिउँसोदेखि सञ्चालनमा आएको थियो भने दाउन्ने डाँडामा लेदो माटोका कारण अवरुद्ध दाउन्ने खण्ड आज बिहानदेखि मात्र सञ्चालनमा आएको हो ।

सडक दुईतर्फी सञ्चालनमा आएसँगै गाडीहरु सहज रुपमा सञ्चालन भइरहेका इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले बताउनुभयो । दाउन्ने डाँडामा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो । गएरातिदेखि अवरुद्ध खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभयो ।

नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा रहेको र पानी परेपछि यात्रुले सधैँ सास्ती खेप्दै आउनु परिरहेको छ । यही ठाउँमा गएको वर्ष पनि डाइभर्सन बगाउँदा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । समयमै सडक विस्तार नगरिँदा यात्रुले बर्सेनि दुःख पाउने गरेका छन् ।