काठमाडौँ । संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज पनि बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने गरी आज संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा हिजोबाट सुरु भएको आगामी आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि आज पनि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ। हिजोदेखि जारी छलफल मंगलबार सम्म सकेर पास गर्ने तयारी सरकारले गरेको छ। आइतबारको बैठकमा विभिन्न दलका सांसदहरुले बजेटमाथि आआफ्नो धारणा राख्दै मिश्रित प्रतिक्रिया दिएका थिए।
यसैगरी मध्याह्न सवा १२ बजे बस्ने गरी बोलाइएको राष्ट्रिय सभाको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले निरन्तरता पाउने छ।
