काठमाडौँ । चाबहिलमा एक जना पुरुषले श्रीमती र ३ छोरीसहित आफैूँमाथि पेट्रोल छर्किएर आगो लगाएका छन् । मंगलबार राति चाबहिलको सरस्वतीनगरमा साढे ८ बजेतिर ५५ वर्षीय चञ्चलबहादुर सिंहलेआफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

सिंहले ४४ वर्षका श्रीमती विनु सिंह, छोरीहरू २५ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानीमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको बताइएको छ ।

प्रहरीका अनुसार रक्सीले मातेका चञ्चलले परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएको र सोको जानकारी प्राप्त गर्ना साथ उनीहरूको उद्धार गरी हेल्पिङ ह्याण्ड अस्पताल धुम्बाराही पुर्‍याएको थियो ।

गम्भीर घाइते जेठी छोरी सुप्रिया र माइली समृद्धिको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार भैरहेको छ । बुबा, आमा र कान्छी छोरी खतरामुक्त अवस्थामा रहेकाले सामान्य वार्डमा उपचाररत रहेको बताइएको छ ।

चञ्चलले मादक पदार्थ सेवन गरी मंगलबार राति झगडा गरी घटना घटाएको र यसअघि पनि रक्सी खाएर श्रीमतीसँग झगडा गर्नुका साथै पटक-पटक मार्ने धम्की दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।