काठमाडौँ । रुकुमपश्चिममा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका–१ मा रहेको नेपानेमा हिजो बेलुकी जीप पल्टिँदा तीन जनाको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका हुन् ।
कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको जीप मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ छिनखेत जाँदै गर्दा सडकबाट झण्डै दुईसय मिटर तल खसेको प्रहरीले जनाएको छ । बाँफिकोट क्षेत्रमा ‘फाइबर नेट’ विस्तार गरेर फर्कदै गरेको उक्त जीप दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीका अनुसार दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको ज्यान गएको जानकारी दिएका छन्।
घाइते तीन जनाको जिल्ला अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ ।
