महोत्तरीको गौशाला नगरपालिका-११ निवासी ३० वर्षीय विनय कुमार महतो (मुरारी) माथि मराहा खोलामा गोली प्रहार भएको छ। कम्मरमा गोली लागेर उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि जनकपुर ल्याइएको छ ।
हिजो साँझ करिब ६ बजे घरबाट गौशाला बजार जाने क्रममा दुईवटा मोटरसाइकलमा आएका हतियारधारी दुई जनाको अज्ञात समूहले लुटपिट गर्दा गौशाला नगरपालिका-५ मरहा खोलामा घटना भएकाे महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए। प्रहरीका अनुसार लुटपाटको उद्देश्यले महतोमाथि गोली प्रहार भएको हो।
लुटेरा समूहले महतोले लगाएको सुनको सिक्री र ब्रास्लेट लुटेर फरार भएका छन्। घटना विषयमा थप अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ । डीएसपी जयसवालले महतोको कम्मरमा गोली लागेर घाइते भएका कारण उनलाई उपचारको लागि जनकपुर पठाइएको जानकारी दिए।
घटनास्थलमा दुईवटा गोली फेला परेको छ र महतोमाथि गोली प्रहार गर्नेहरूको खोजी कार्य तीव्र पारिएको महोत्तरी प्रहरीले जनाएको छ।
