काठमाडौँ । आज देशभरका सामुदायिक क्याम्पस बन्द गर्न नेपाल पब्लिक क्याम्पस संघ आवहान गरेको छ । बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको अज्ञात समूहद्वारा गोली हानी हत्या भएको घटनाको छानबिन गर्न दबाब दिन संघले आइतबार सामुदायिक क्याम्पस बन्द गर्ने निर्णय गरेको हो ।
कुशवाहाको शुक्रबार अज्ञात समूहले घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्श कोतवाल गाउँपालिका–३ बतरा गाउँको दक्षिणमा रहेका लंगहासन माई मन्दिर अगाडि गोली हानी हत्या गरेका थिए ।
संघले एक विज्ञप्ति निकाल्दै दोषीलाई यथाशीघ्र कानुनी कठघरामा ल्याई कारबाही गर्न सरकारसमक्ष जोडदार माग गरेको छ । ‘बाँच्न पाउने नागरिकको मौलिक हकको सम्मान सबै पक्षबाट जिम्मेवारीपूर्वक निर्वाह गरियोस् र यसको सुनिश्चितताको प्रत्याभूतिप्रति सरकार गम्भीर बनोस् भनी ध्यानाकर्षण गराउन चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
आगामी दिनमा यस्ता अमानवीय घटनाको पुनरावृत्ति नहोस् र राज्य तथा अन्य सम्बन्धित निकायको ध्यानाकर्षणका लागि नेपाल पब्लिक क्याम्पस संघले देशभरका आफ्ना सबै सदस्य क्याम्पसहरूको पठनपाठन २०८१/०३/०२ गते आइतबार बन्द हुने विज्ञप्तिमा उल्लेख छ ।
