वीरगन्ज महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँको बजेट ल्याएको छ । शनिबार आयोजित १५औँ नगरसभामार्फत महानगरले चालु आर्थिक वर्षभन्दा ६२ करोड रुपैयाँ घटेर बजेट सार्वजनिक गरेको हो। चालु आर्थिक वर्षमा महानगरको बजेट संशोधितसहित ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ प्रतिशत रोक्का रहेको, संघीय सरकारको राजस्व असुलीमा आएको संकुचनको कारण राजस्व बाँडफाँड घट्न गएको, घरजग्गा कारोबारमा आएको मन्दीको कारणबाट घरजग्गा रजिस्ट्रेसन आयस्रोतसमेत घट्न जाँदा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनु परेको महानगरपालिकाले जनाएको छ।
नगरसभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख अर्थात् ७०.७ प्रतिशत छुट्याइएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात् २८.१ प्रतिशत बजेट विनियोजन गरेको छ ।
महानगरले खर्च व्यहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजस्वबाट ७९ करोड ७५ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको छ । त्यसैगरी प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजस्व बाँडफाँडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको महानगरले जनाएको छ ।
महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा भएको अधिवेशनमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
