काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा, नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ। कार्यालयले यसपटकदेखि नयाँ लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।
परीक्षामा सहभागी ४ लाख ४४ हजार ७८५ विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ (४७.८६ प्रतिशत) विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएका छन् । दुई लाख ४२ हजार ९२ जना विद्यार्थी अर्थात ५२ दशमलव १४ प्रतिशतको ननग्रेड अर्थात् एनजी आएको छ । एक सय ८६ जनाले चार जिपीए प्राप्त गरेका छन् । दुई सय २१ जनाको परीक्षा रद्द भएको परीक्षा बोर्डले जनाएको छ ।
यस वर्ष पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याएका विद्यार्थी नन ग्रेडमा परेका छन् । यस वर्षदेखि हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षामा न्यूनतम २७ अंक नल्याउने विद्यार्थी नन ग्रेड भएका छन् ।
दुई विषयसम्म एनजी पाएका विद्यार्थीले बोर्डले लगत्तै लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । जुन विषयमा एनजी भएको हो सोही विषयको मात्रै परीक्षा दिए पुग्ने छ । तर दुईभन्दा बढीमा एनजी पाएका विद्यार्थीले भने अर्को वर्ष उक्त विषयको परीक्षा दिनुपर्ने छ ।
राष्ट्रिय परिक्षा बोर्डको वेबसाईट result.see.gov.np/result मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमको वेबसाईट www.see.ntc.nt.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ ।
त्यस्तै मोबाइलको एसएमएसमा SEE लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा पठाएर नतिजा थाहा पाउन सकिन्छ । यस्तै आईभीआरको माध्यमबाट पनि नतिजा हेर्न सकिन्छ । १६०० डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा सुन्न सकिन्छ ।
