प्रत्येक वर्ष जस्तै आज पनि असार १५ गते खेतमा काम गरी दही चिउरा खाएर धान दिवस मनाइँदै छ । दही चिउरा खाने दिनलाई किसानहरुको पर्वका रुपमा लिइन्छ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश जनताको पेसा खेतीपाती हो ।

नेपाली संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकामना निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ।

गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भन्ने भनाइ छ। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ। भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

वि.सं. २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *