अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रितादेवीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित ११ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटहरिया नगरपालिका–२ जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्स र फ्लोरिङको काममा उपभोक्ता समितिसँग मिलेमतो गरी स्वीकृत लागत अनुमानअनुसार काम नगर्नुका साथै वास्तविकताभन्दा बढी क्षेत्रफल देखाएर रकम हिनामिना गरेको कमसल काम गरि अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा १२ लाख ५२ हजार रुपैयाँभन्दा धेरै भुक्तानी लिई/दिई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको आरोपपत्रमा उल्लेख छ ।
भुक्तानी सिफारिस भएको नापी किताबमा ११९४ दशमलब ४१ वर्ग मिटर भएको र वास्तविक क्षेत्रफल ४ सय ७३ दशमलब वर्ग मिटरमात्र भएको दाबी अख्तियारको छ । योजना र भुक्तानीमा संलग्न मेयर अजय प्रकाश, उपमेयर रिता देवीसहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेशप्रसाद यादव, कार्यपालिका सदस्य समिशविक्रम शाह, मनोजप्रसाद जैसवाल, इन्जिनियर मोहम्मद मकसुद आलम, उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिताकुमारी चौधरी र सचिव योगेन्द्र साहलाई पनि प्रतिवादी बनाइएको छ ।
