संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे शुरु हुने बताइएको छ । आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
बैठक सभामुख देवराज घिमिरेले संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यक्रम छ ।
सभामुख घिमिरेले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
सांसद तोसिमा कार्कीले ‘विपद् व्यवस्थापनमा पुनरवलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्व तयारी सम्बन्धमा छलफल गर्न आवश्यक भएकाले’ भन्ने विषयको जरुरी सावर्जनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

