बाग्मतीका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासकाे मत प्राप्त गर्नुभएकाे छ। आजकाे प्रदेश सभा बैठकमा उहाँले विश्वासकाे मत प्राप्त गर्नुभएकाे हाे।

मुख्यमन्त्री लामाले राख्नुभएकाे विश्वासकाे मतसम्बन्धी प्रस्तावमा ६४ जना सांसदले समर्थन दिएका छन्। उहाँलाई कांग्रेसका ३७ र एमालेका २७ जना सांसदले पक्षमा मत दिएका हुन्। यस्तै माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपालगायतका ३५ जना सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन्। यसैगरी तीन मत तटस्थमा परेकाे छ। आजको प्रदेश सभा बैठकमा एक सय तीन जना सांसद उपस्थित थिए।

११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१ एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुईजना सांसद रहेका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा यही साउन ८ गते बाग्मती प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुनुभएकाे थियाे।

प्रदेश सभामा राप्रपाका सभामुख र एमालेका उपसभामुख रहेका छन्। मुख्यमन्त्री लामाले यसअघि नै प्रदेश सरकारलाई पूर्णतासमेत दिइसकेका छन्। १३ मन्त्रालय रहेको प्रदेशमा उनले एकजना विनाविभागीयमन्त्रीसहित १४ जना मन्त्री नियुक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *