विश्व स्तनपान सप्ताह आजदेखि शुरु भएको छ। शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहका रुपमा मनाउने गरिएको छ।

नेपाल लगायत विश्वका १ सय ७० भन्दा बढी देशले आजदेखि एक हप्ता सम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दैछन् । विश्व स्तनपान सप्ताह सन् १९९२ देखि मनाउन शुरु गरिएको हो । सुत्केरी हुने बित्तिकै आउने आमाको पहेँलो बिगौती दूध निकै पोषिलो र स्वस्थकर हुने भएकाले स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ।

६ महिना सम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाईने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान शुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटकसम्म आमाको दूध खुवाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।

डाक्टरहरुकाअनुसार स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने भएकाले शिशुको वृद्धि, विकास र रोगप्रतिरोधात्मक क्षमताको विकासका लागि पनि स्तनपानको महत्त्व छ ।

विश्व स्वास्थ्य संगठनले आमाको दूधको विकल्पमा प्रयोग हुने वस्तुहरुका कारण आमाहरुले बच्चालाई दूध खुवाउन नखोज्ने गरेको भन्दै त्यस्ता वस्तुको नियन्त्रणमा जोड दिएको छ ।

नेपाल सरकारले शिशु तथा बालबालिकाको खाद्य पदार्थको अनुचित प्रवर्द्धनको अन्त्य गर्न विश्व समुदायमा प्रतिबद्धता जनाएको छ ।