अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार करिडोरको बाग्लुङ नगरपालिका-१० दब्ल्याङमा पहिरोले खस्दा सडक नै भासिएकोले करिडोर अवरुद्ध भएको जनाएको छ। करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको उनले बताए। अहिले वर्षा भइरहेकाले सडक खुलाउन नसकिने जनाउँदै वर्षा रोकिएपछि खुलाउने प्रनाउ यादवले बताएका छन्।
सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बाग्लुङको सिधा यातायात बिच्छेद भएको छ। गतहप्ता पनि अवरुद्ध भएको सडक हिजो दिउँसो सञ्चालनमा आएकोमा गएरातिको भारी वर्षाले सडक पुनः अवरुद्ध भएको हो।
