मंगलबार शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ। यस दिन नेप्से उच्च अंकले घट्दा सूचक २८०० विन्दु तल झरेको छ।
मंगलबार ३३० वटा कम्पनीको शेयर कारोबार हुँदा २२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । नेप्से सूचक १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा झरेको छ। बजारले २८०० को सपोर्टलाई पनि तोडेर तल झरेको छ। यसले बजारमा विक्री चाप उच्च रहेको देखाउछ।
प्रि ओपन सेसनमा ५ अंकले बढेर सुरु भएको शेयर बजार बजार खुलेको केही समयबाट नै घट्न थालेको थियो । बजारले ४ पटक तल झरेर माथि उठ्न खोजेता पनि बजार भने माथि जान सकेन । बजार बन्द हुनुभन्दा अन्तिम ३ मिनेटमा केही अंकले बजार सुधार आउँदा १११ अंकले बजार घटेर बन्द भयो ।
मंगलबार कारोबार रकम १८ अर्ब रुपैयाँमा नै सिमित भएको छ। यस दिन ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर १८ अर्ब ६४ लाख ९५ हजार ३३ हजार रुपैयाँमा खरिद बिक्री भएको छ। मंगलबार कारोबारमा आएकामध्ये १२ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने होटल उपसमूहको सूचक मात्र सकारात्मक देखिएको छ।
मंगलबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लगानी उपसमूहको सूचक ४ प्रतिशत भन्दा धेरैले घटेको छ। घटेको बजारमा पनि तारागाँउ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र डोल्टी पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ।
यता नेपाल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने रिडी हाइड्रोपावरको ८.५८ प्रतिशत र नेश्नल हाइड्रोपावरको ७.६७ प्रतिशतले घटेको छ।
मंगलबार हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ६५ करोड ४२ लाख, अपी पावरको ५१ करोड ७५ लाख र अरुण भ्याली हाइड्रोपावरको ४५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
