प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन्। कुशे औँसीलाई बुवाको मुख हेर्ने औँसी पनि भनिन्छ।

आजको दिन बुवाको मुख हेर्ने दिन बुवाको सम्मान, सम्झना अनि विशेष समर्पण गर्दै मनाउने गरिन्छ। यस दिन आफ्नो पिता हुने छोराछोरीले बुवालाई भेटेर मिठा परिकार खुवाउने, उपहार दिने र आशिर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्।

त्यस्तै, बुवा नहुनेले पिताको सम्झनामा तस्बिर हेरेर वा विभिन्न मन्दिर शक्तिपीठ, देवालय लगायतका पवित्र तिर्थस्थल पुगेर पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्दछन्।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । भाद्र कृष्ण औंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने पनि गर्दछन्।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

वैदिक सनातन हिन्दू संस्कारमा कुश अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक भूमिका भएको पवित्र वनस्पती मानिन्छ। यो देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो। औँशी दिन घरमा ल्याइने कुशको महिमा श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ।

आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको छ । अरू दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । 

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन पितृतृप्तीको कामनाले आउने गरेका छन् ।