सरकारले सरकारी कार्यालयहरुमा खाजा खाने समय आधा घण्टा तोकेको छ। खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएको भन्दै प्रधानमन्त्री ओलीले अबदेखि दिउँसो १:३० देखि २ बजेसम्मका लागि खाजा समय कायम गरिएको आइतबार जानकारी दिएका हुन्।
त्यस्तै, उनले खाजा खाने समयको नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न पनि आग्रह गरेका छन्। ‘कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ,’ प्रधानमन्त्री ओलीको पोस्टमा छ।
‘खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन’, उनले भनेका छन्। कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकाले त्यसबाट घटाएर हरेक दिन १:३० देखि २ बजेसम्म कायम गरिएको हो।
