नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ।

विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ। सरकारको निर्णयानुसार असोज २–४ गते राष्ट्रिय दिवसका रूपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाउन लागिएको छ।

पछिल्लोपटक संविधान संशोधनको बहस भइरहेको छ । संविधान दिवसको अवसरमा सरकारले अहिले बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुनेछ ।

आजै बेलुकी राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ । संविधान दिवसका अवसरमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाले पनि विभिन्न कार्यक्रम गर्दैछन् । विदेशमा रहेका नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन् । संविधान दिवसकै खुशीयालीमा नागरिकस्तरबाट काठमाण्डौको दरबारमार्गमा राष्ट्रिय दिवस साङ्गीतिक प्रस्तुति हुनेछ ।

यसैबीच संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरूले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गर्नुभएको छ । सरकारले संविधान दिवसका अवसरमा दीपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ ।

संविधान आफैमा कानूनी सिद्धान्त तथा राजनीतिक सहमतिको दस्तावेज हो। संविधान राज्यको मुल कानून भएकाले यसको मर्म र भावना बमोजिम राज्य व्यवस्था संचालन गर्न, संविधानमा लिपिबद्ध गरिएका जनताका आधारभूत हक अधिकारहरूको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्दतीसँग आवद्ध गरी लोकतन्त्रका लाभहरूको समतामूलक र समन्यायीक वितरण गर्नेतर्फ ध्यान जान जरुरी छ।

अब व्यवस्था परिवर्तन गर्नेतर्फ होइन कि व्यवस्था सुदृढ र संस्थागत गर्नेतर्फ केन्द्रीत हुनुपर्छ। लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो भन्ने मान्यतालाई स्थापित गराउन सानातिना राजनीतिक स्वार्थहरूलाई बिर्सेर सक्दो छिटो सामाजिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउनु आजको आवश्यकता हो।

यसका लागि एकातिर राज्यको नेतृत्व गर्नेसँग दृढ राजनीतिक इच्छाशक्ति र इमान्दारिताको आवश्यकता हुन्छ भने अर्कोतिर आम नेपाली जनताको सकारात्मक र रचनात्मक भूमिका जरुरी हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *