संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ। सरकारले सुनुवाइका लागि गरेको पत्राचार अनुसार समितिले उजुरी आह्वानको प्रक्रिया अघि बढाएको हो । 

संसदीय सुनुवाइ समितिको बैठकले संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्र लेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको उपर सार्वजनिक उजुरी आह्वान गर्ने गर्ने निर्णय गरेको हो ।

समितिले उनलाई प्रस्तावित पदमा नियुक्त गर्नु उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्र उजुरी दिन सकिने जनाएको छ। समितिका अनुसार संसदीय समितिको सचिवालय वा जुनसुकै जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी दिन सकिनेछ।

यसैगरी समितिले प्रस्तावित दुई राजदूतविरुद्ध पनि उजुरी माग गरेको छ। बेल्जियमका लागि सिफारिस परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र अष्ट्रेलियाका लागि सिफारिस कांग्रेस नेतृ चित्रलेखा यादवविरुद्ध समितिले उजुरी मागेको हो। 

यसअघि हिजो बसेको संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशमा प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम अनुमोदन गरेको थियो। तीमध्ये १२ जनाको सर्वसम्मत र ४ जनाको नाम बहुमतको आधारमा अनुमोदन गरिएको हो। 

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको शैक्षिक प्रमाणपत्र पेश नभएको हुँदा उनको नाम अनुमोदनको निर्णय रोकिएको समितिले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *