सुन तस्करीमा दोषी ठहर भएर जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा भएका छन्। अदालतले तोकेको १४ महिना सजाय भुक्तान गरेर उनी १३ कात्तिकमा रिहा भएका हुन्।

इलेक्ट्रिक चुरोट (भेप) मार्फत भएको नौ किलो सुन तस्करी गरेको आरोपमा मुछिएपछि वयानको लागि आफै सिआइबीमा हाजिर हुन पुग्दा थुनिएका उनी १४ महिनापछि मंगलबार छुटेका हुन्।

२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मार्फत लुकाएर सुन तस्करी गर्ने समूहका वाङ्ग दाओजिनसँग महराका बाबु–छोराको निरन्तर फोन सम्पर्क भएको देखिएको थियो।

राहुललाई २०८० भदौ १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले थुनामा राखेकाे थियो। जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

राहुलको मुद्दामा गत भदौमा फैसला भएको हो। न्यायाधीश केशव पोखरेलले उनलाई १४ महिनाको जेल सजाय सुनाएका थिए। पक्राउ परेको दिनदेखि उनको जेल सजाय गणना भएर १३ कात्तिकमा १४ महिना पूरा भएको छ। त्यही दिन उनी रिहा भएको केन्द्रीय कारागार बताइएको छ।

बाबु कृष्णबहादुर महरा पनि सोही प्रकरणमा गत चैत्रमा पाँच दिन हिरासतमा बसेका थिए। त्यो बेलामा उनी छुट्दा तत्कालीन गृहमन्त्री रवि लामिछानेले ‘राज्यको पनि करुण हुन्छ’ भनेका थिए।