आज राष्ट्रिय कर दिवस । ‘ कर प्रणालीको सार, नेपालको आधार’ भन्ने नाराका साथ मनाइँदैछ । राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ।
२०५४ मंसिर १ मा आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो। आर्थिक वर्ष २०८०/०८१ मा कुल राजस्व १० खर्ब ५८ अर्ब असुली भएकोमा आन्तरिक राजस्व विभागको योगदान ५ खर्ब ३३ अर्ब छ। जुन कुल राजस्व असुलीको करिब ७८.६५ प्रतिशत हो।
दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो एवं दिगो कर आधारसहितको सबल, सक्षम, पारदर्शी र लगानीमैत्री कर प्रणालीमार्फत आर्थिक सामाजिक विकास गरि सुखी नेपाली र समृद्ध नेपालको आकांक्षा पुरा गर्नु अपरिहार्य रहेको बताएका छन्। अर्थमन्त्री विष्णु पौडेलले राजस्वको दायरा विस्तार गरि कर सहभागिता वृद्धि गर्न, कर संकलन लागत घटाउन र कर चुहावट नियन्त्रण गर्न अझै सुधारको आवश्यकता रहेको धारणा राखेका छन्।
संघीय लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास सँगै एकातर्फ आम जनताका आवश्यकता र चाहानामा बढोत्तरी हुँदै गएको छ भने अर्कोतर्फ सरकारको साधारण खर्चमा समेत वृद्धि भएको छ। सार्वजनिक खर्चमा भएको बढोत्तरी अनुरुप राजस्व परिचालन गरी स्रोतको व्यवस्थापनमा तालमेल मिलाउनु चुनौतीपूर्ण रहेको छ। यसका लागि करको दायरा विस्तार गर्ने, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्मा ल्याउने, डिजिटल कारोबारको कराधारको संरक्षण तथा नियमन, लगानीमैत्री कर कानूनको तर्जुमा, पारदर्शी व्यवहार र स्वयंकर प्रणालीमा आधारित प्रविधि एवं करदातामैत्री प्रशासनलाई आत्मसाथ गर्दै स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्न विभागले आफ्नो दैनिक काम कार्यवाही सञ्चालन गर्दै आएको देखिन्छ।
अर्थतन्त्रमा विगत केहि वर्ष देखि देखापरेका आन्तरिक तथा बाह्य परिघटनाको कारण राजस्व परिचालनमा आशातित परिणाम आउन सकेको छैन। तथापि, आन्तरिक तथा बाह्य अवस्थाले गर्दा सिर्जित राजस्व परिचालनको कमीलाई परिपूरण गर्नका लागि कर प्रणालीमा समयानुकूल सुधार ल्याई सार्वजनिक खर्चको बढ्दो आवश्यकतालाई धान्न सक्ने गरी आन्तरिक स्रोतको परिचालनमा बढावा ल्याउने कार्यलाई मूर्तरुप दिनु आवश्यक रहेकाे छ। कर सहभागिता स्तरमा वृद्धिका लागि नीतिगत एवं कानूनी सहजता ल्याई सम्पूर्ण आर्थिक कारोबारलाई करको दायरामा ल्याउने, कर संकलन लागत र करदाताको कर परिपालना लागत घटाउने साथै कर प्रशासनलाई स्वच्छ, व्यावसायिक, प्रतिस्पर्धी, सदाचारमूलक बनाउने दिशातर्फ विभागले गरेको प्रयासका गतिलाई थप चलायमान बनाउनुपर्ने देखिन्छ।
करदाता मैत्री कर प्रशासन संचालन गर्ने, स्वेच्छिक कर सहभागितामा आधारित कर प्रणाली अबलम्बन गर्ने, राजस्व नीतिहरूमा समसामयिक परिवर्तन गर्दै जाने, कर प्रशासनमा काम गर्ने कर्मचारीको क्षमता अभिबृद्धि गर्ने तथा नवीनतम प्रविधिको प्रयोग गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्ने, सबै किसिमको आर्थिक क्रियाकलापहरूलाई करको दायरामा ल्याई राजस्वको आधार फराकिलो बनाउने, राजस्व प्रशासनको बिस्तार तथा आधुनिकीकरण गरी कुशल, व्यवसायिक र स्वच्छ बनाउने, आर्थिक बिस्तारलाई सहयोग पुग्ने गरी लगानी मैत्री कर प्रणालीको नीति अवलम्बन गर्ने तथा कर प्रणालीलाई ब्यबसाय मैत्री बनाउने, कर संरचना र दरमा सामायिक सुधार गर्दै जाने, कर प्रणालीलाई थप सरल, छिटो छरितो र लागत प्रभावी बनाउने, कर सहभागिता तथा कर संकलन लागत न्युन बनाउने एवं राजस्व प्रशासनको संगठनात्मक, संरचनागत र प्रणालीगत तथा प्रकृयागत सुधार गर्दै जानु पर्दछ।
