कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज शिलान्यास गरेकी छन्। लम्कीचुहाँ नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा आयोजित एक विशेष कार्यक्रमबीच उनले शिलान्यास गरेकी हुन्।

लम्की चुहाँ नगरपालिका-३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका-७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन्। कुल ५ अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण हुनेछन्।

शिलान्यस कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक  मुलुकको कायापलट गर्न सम्भव रहेको बताए। उनले भने, “पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ। पर्यटकको बसाइ लम्बाउन, विदेशी मुद्रा थप आर्जन गर्न, रोजगारी नयाँ अवसर सिर्जना गर्न, थप राजस्व उठाउन सकिन्छ। हामीले अपेक्षा गरेको आर्थिक विकास र समृद्धि हासिल पर्यटन प्रवर्द्धनबाट सम्भव छ।”

प्रालिका अध्यक्ष ढकालले पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्ने भन्दै यसबाट राजस्व पनि बढी संकलन हुने उल्लेख गरे। उनले ‘केबलकार पर्यटन सर्किट’ बनाउने आफ्नो लक्ष्यलाई जालपादेवी केबलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए। 

चन्द्रागिरिकै मोडलमा सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको विशाल पर्यटन पूर्वाधार निर्माणको उद्देश्य लिएर आफूहरु अघि बढिरहेको अध्यक्ष ढकालले बताए।  यसले  नेपाल आउने पर्यटकको बसाइ कम्तीमा सात दिन लम्बिने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *