गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरुमा बिदा दिएको हो।
मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार आज सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए। यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकारको स्थापना दिवस गरी छुट्टाछुट्टै मनाउँदै आए पनि यसवर्षदेखि स्थापना दिवसमात्रै मनाउने निर्णय गरेको हो ।
२०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको छ।
दिवसका अवसरमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता कार्यान्वयनसँगै प्रदेश सरकार सुशासन, समुन्नति र सामाजिक न्यायलाई आत्मसात् गर्दै दिगो विकासको लक्ष्यमा अघि बढेको बताएका छन्। प्रदेश स्थापनाको आठौँ वर्ष प्रवेशका अवसरमा आज प्रदेशवासीमा शुभकामना सन्देश दिँदै उनले प्रदेश सरकारले संवैधानिक मूल्य, मान्यता एवं प्रचलित कानुनबमोजिम समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तलाई आत्मसात् गरी नागरिकसामु लोकतन्त्र र सुशासनलाई स्थापित गरेको उल्लेख गरेका छन्।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानुनी र संस्थागत पक्षहरूलाई स्थापित गरी आफूलाई परिपक्व बनाउँदै लगेको बताए। गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’को सङ्कल्प पूरा गर्न सरकार कटिबद्ध रहेको उनको भनाइ छ।
