संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
सोमबार प्रमुख सचेतकहरूको बैठकमा मङ्गलबारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले बोल्ने समयबारे छलफल भएको थियो। सोही अनुसार समय निर्धारण गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले उपभोक्ता अदालतको गठन सम्बन्धी सूचना टेबुल गर्ने कार्यसूची रहेको छ।
यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।
वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै यसलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।
