गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित रहेको उक्त उद्योगमा विद्युत् सर्ट भएर लागेको आगो हालसम्म पनि नियन्त्रणमा आउन नसकेको हो।
अझैसम्म पनि उद्योगमा लागेको आगलागी पूर्ण नियन्त्रणमा आउन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए। उनले दाङको घोराही, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीबाट दमकल ल्याएर आगो निभाउने कार्य भैरहेको जानकारी दिए।
आसपासमा बस्ती भए पनि त्यो बस्तीका लागि जोखिम भने टरेको प्रजिअ लम्सालले बताए। आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेशिन लगायत करोडौँको क्षति भएको अनुमान गरिएको छ। यद्यपि अझै पनि क्षतिको विवरण आइपुगेको छैन। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित सुरक्षा निकाय, स्थानीयलगायतले आगो नियन्त्रण गरिरहेका छन्।
