सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका झन्डै २२ लाख बालबालिकालाई खुवाइने भएको हो।
त्यस्तै एक वर्षदेखि पाँच वर्षसम्मका झन्डै १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको छ। त्यस्तै बालबालिकामा कुपोषणको परीक्षण गरिनेछ भने बालभिटासमेत दिइनेछ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा झन्डै ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन हुँदैछन्।आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ।
सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट शुरू भएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो।
जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट शुरू गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ।
यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ। हरेक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ।
