आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। जौको सातु र सर्वत दान एवम् सेवन गरी मनाइँदैछ। यस दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ।
यस दिनमा गरिएका साना कर्मले पनि अक्षय पुण्य प्राप्ति हुने कारण यसलाई अक्षय तृतीया भनिएको हो, धेरथोर गरिएको दानले अक्षय फल प्राप्त हुने, ब्रह्मा, विष्णु, शिव तीनै देवता प्रसन्न रहने, तिलमिश्रित अन्न, जल, घडा दानले स्वर्गीय पितृहरू बढी खुसी रहने, दातालाई अक्षय पुण्य प्राप्ति हुने धार्मिक मान्यता रहेको छ। जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो।
शिव–पार्वतीको बिहेको दिनको रूपमा, ईश्वरको आवेश अवतार परशुराम जयन्तीको रूपमा समेत हेरिने यो पर्वको विशेष महत्व रहेको छ। अक्षय तृतीयालाई राम अवतार ज्ञानको आरम्भ, त्रेतायुग आरम्भको दिन मानिन्छ। हिन्दु धर्म संस्कृतिमा यस दिनलाई विशेष पर्वको रूपमा मान्ने चलन रहेको छ।
पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाइ घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ। गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्ति समेत प्राप्त हुने जानकारहरू बताउँछन्। शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ।
मानव जीवन भन्नु परोपकारका लागि हो। पशु र मानवमा पृथकता भन्नु नै चेतना विकास हो। अध्यात्मको गहिरो भोक नलागी देखावटी दर्शन शास्त्रहरू पनि कामयावी नहुन सक्छन्, जीवनमा, समाजमा, देशमा र पूरै ब्रह्माण्डमै। दानमध्ये अन्न दान प्राण दानसरह हो। सबै प्राणी जल, अन्न र वायुमा निहित छन्। वातावरणको संरक्षण गरी जलदान, अन्नदान गर्न यस पर्वले जोड दिएको छ। हाम्रो मुलुक कृषिप्रधान हो। प्रमुख बाली धान, गहुँ, मकैका अतिरिक्त जौ उत्पादन पनि हुने गर्छ। तिल, जौद्वारा ईश्वरको पूजा हुने गर्छ। जौ, गहुँलाई शीतलताको प्रतीक मानिन्छ।
अक्षय तृतीयाको दिन जल दानको संकेतले मानवले हरदिन पानीलाई पवित्र राख्नु पर्ने बोध गराउँछ। जौको सातु, साथमा धर्मघट अर्थात् जलपूर्ण घडा, घ्यू, चिनी, मसला, तिल मिश्रित सर्वत र आकाशको प्रतीक छाता र धर्तिको प्रतीक जुत्ता वितरणले सम्पूर्ण जीवन र जीवन संरक्षण हेतु यी वस्तुहरू अरूको हितमा प्रयोग गर्ने संकेत मिल्छ, यो निस्वार्थ दान हो।
यस्तै, अक्षय तृतीयाकै दिन जन्मिएका परशुराम ऋषिको जन्मजयन्ती पनि आजै मनाइन्छ। अष्टचिरञ्जीवी मध्येका एक परशुराम वैशाख शुक्ल तृतीयाका दिन जन्मिएको विभिन्न पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएको छ।
